पोखरा। युवा महिला श्रमिकहरुको लागि नेतृत्व विकास सम्बन्धि दुइदिने तालिम सम्पन्न भएको छ। महिलाको निम्ति महिला मंच नेपालको आयोजनामा तालिम राखिएको हो। तालिममा १३ जना श्रमिक महिला, स्थानीय निकाय, महिला मानव अधिकार रक्षक संजाल साथै विभिन्न संघसंस्थाको सहभागीता थियो।
५ वटा प्रदेशको ७ जिल्लामा संजाल गठन भएको महिला मंच नेपालले पहिलोपटक कास्कीमा पनि मंच गठन गरेको हो। यसले मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकलाई संगठित गर्दै सवाल उठानमा जोड दिँदै आएको छ। मेरो काम मेरो अधिकार अभियान अन्तर्गत महिलाको निम्ति महिला मंच नेपालले मनोरन्जन क्षेत्रमा महिला श्रमिकको मानव तथा श्रम अधिकार सुनिश्चत गर्न देश भरिका श्रमिकहरुलाई संगठित गर्दै जसको सवाल उसको नेतृत्वदायी भुमिका निर्वाह गर्ने वातावरण निर्माणमा जुटेको संस्थाकी कार्यक्रम संयोजक मनिला शाक्यले जानकारी दिइन्।
कोभिड–१९ को प्रभाव अन्य क्षेत्रमा भन्दा यस क्षेत्रमा परेको बताउदै महिला श्रमिक बढी प्रभावित बनेको उनले बताइन्। सरकारले यस क्षेत्रका श्रमिकको आवश्यकतालाई आत्मसाथ गर्ने अवस्था नरहेको उनको भनाई थियो। २०७७ फागुनेदखी यस क्षेत्र बन्द भई आलसम्म पनि खुल्ने अवस्था नरहेकोले यसतर्फ सरकारको ध्यान दिन नसक्दा लाखौ श्रमिकहरु रोजगारीबाट बन्चित हुनुपरेको उनले बताइन्।
खाद्यान्न, बालबालिको शिक्षा स्वास्थ्य जस्ता आधारभुत मानवअधिकारको पनि हनन भएको सरोकारवालाहरुले बताएका छन्। श्रमिकहरु एक भई सरकारसंग न्याय माग गर्दै आफ्नो अधिकार सुनिश्चत गर्न यस संस्थाको स्थापना भएको आयोजकले बताएको छ। तालिम पश्चात पोखरामा जिल्ला स्तरीय संजाल गठन गरिएको छ।